विराटनगर, १२ जेठ । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायणबहादुर मगरले ग्रामथान संरक्षणको लागि ऐन बनाएर जानु पर्ने बताएका छन् ।
संवाद समूह कोशी प्रदेशले आयोजना गरेको थान संस्कृति संरक्षणको लागि ऐन निर्माण गर्ने बारेमा सरोकारवालाहरू संग भएको छलफलमा मन्त्री मगरले प्रदेशमा थान संरक्षण ऐन आवश्यक रहेको बताएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा हाले थान संरक्षणको विषयलाई अघि सारेर जानु पर्ने बताएका मगरले ग्रामथान संरक्षणको कानुन निर्माणलाई पनि सँगै लग्नुपर्नेमा जोड दिए । भौतिक संरचना, ठुला पक्की भवन निर्माणले थान संस्कृतिको संरक्षण नहुने उनको तर्क छ । ‘देवी देवता भनेको रुखको फेदमा रुखको मुनि, एउटा ढुङ्गामा, लिप पोत गरेर मान्ने हो , उनले भने, आत्म शान्ति र विश्वासको एउटा केन्द्र नै थान हो । दुख पिडा, सङ्कट, आपत् विपतको बेलामा बर माग्ने ठाउँ भनेको नै देउथान, देवी थान र ग्राम थान हो, त्यसलाई संरक्षणको लागि कानुन निर्माण नै पहिलो दायित्व हो ।’ विभिन्न जातजातिले ग्रामथान, देवी थान, भुमिया थान, गहबार थान, डिहिबार थान, साकेला थान, सिद्द थान, सन्सारी थान, चण्डी थानको नाममा थान संस्कृति मान्दै आएको उनको भनाई छ ।
पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झागरले थान संस्कृतिसँगै आफ्नो पहिरन, भेषभुषा र गीत सङ्गीतहरू पनि हराउँदै गएको स्मरण गराइन् । ‘आफ्नो परम्परा, संस्कार संस्कृतिको संरक्षणको लागि हामी माननीय ज्युहरू नै कतिको लागेका छौँ, उनको प्रश्न थियो, जब हामीले नै हाम्रो संस्कार संस्कृति भुली सकेका छौँ भने हामीले हाम्रा पछिल्ला पुस्ताबाट कति आशा गर्ने भन्ने मुख्य कुरा हो । ग्रामथान संरक्षणको बारेमा कानुन बनाउनु भन्दा पहिला कानुन विदहरुसँग बसेर यसको अवस्थाको बारेमा अध्ययन गर्नु पर्ने र त्यसको आधारमा मात्र कसरी अघि बढ्ने भन्ने स्पष्ट हुने मन्त्री झागरले बताइन् ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरू जय प्रकाश चौधरी, सुनिता गच्छदार, भूमिप्रसाद राजवंशी, लखी कुमारी गणेश, ललिताकुमारी चौधरी, नम्बरलाल धिमाल, सुनिताकुमारी गच्छदार, गितारानी महतो लगायतले ग्रामथान संरक्षणको लागि कानुनको ड्राफ्ट बनाउने र छलफल पछि त्यसलाई परिपक्व बनाउँदै लगिने प्रतिबद्धता जनाएका छन् ।