इनरुवा, २० जेठ । सशस्त्र प्रहरीले गएराति सुनसरीको हरिनगरबाट आशङ्कामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ ।
हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले सो रकम बराहद गरेको हो ।
घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाई छिपाइ राखेको अवस्थामा रकम बरामद भएको जनाएको छ ।
बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । हरिनगर गाउँपालिका ६ बस्ने अन्दाजी बर्ष ३५ का ईशा अन्सारीलाई समेत नियन्त्रणमा लिइएको छ ।
स्रोत नखुलेको उक्त नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रिया थालिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।