कोशी प्रदेश प्रहरी अस्पतालका लागी तानातान

दुवै पक्षलाई प्रधानमन्त्रीको आश्वासन
Logo
Popular News आइतबार, पुष १५, २०८०

इनरुवा, १५ पुस । कोशी प्रदेशमा रहेको नेपाल प्रहरीको अस्पताल मोरङको बेलबारीबाट सुनसरीको इनरुवा सारिएको बिषय पेचिलो बन्दै गएकोछ । बेलबारीबाट इनरुवा सारेपछि अहिले बेलबारीमा नै अस्पताल पुर्नरस्थापना हुनुपर्ने स्थानियले दवाव बढाएको छ भने इनरुवामा संचालन गर्नुपर्ने भन्दै सुनसरीका स्थानिय जनप्रतिनिधि र राजनितिक दलहरुले दवाव बढाएको छ ।

११ फागुन २०७९ मा तत्कालिन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा प्रादेशिक प्रहरी अस्पतालको शुभारम्भ गरेका थिए । तर एक वर्ष नपुग्दै उक्त अस्पपतालका सबै सामान सुनसरीको इनरुवामा सारिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बेलबारीमा ठाउँ साँघुरो भएका कारण अस्पताललाई फराकिलो ठाउँ इनरुवामा सारिएको दाबी गरेका छन ।

इनरुवास्थित जिल्ला समन्वय समितिको भवनमा प्रहरी अस्पताल सारिएकोे छ । भने अब कोशी प्रदेश अस्पतालले इनरुवाबाटै सेवा प्रवाह गर्ने तयारी पुरा गरेको छ । यहि पुसको ४ गते संचालन गर्नेगरि तयारी पुरा गरेपनि औपचारीक रुपमा अस्पताल संचालन हुन सकेको छैन ।

किन सारियो अस्पताल बेलबारीबाट इनरुवा ?

राजन मेहता इनरुवा नगरपालिकाको प्रमुख भएको बेलामा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा ४ स्थित नयां बसपार्कमा संचालन गर्ने निर्णय इनरुवा कार्यापालिकाबाट भएकोे थियो । इनरुवा नगरपालिका वडा न. ४ मा निर्माण गरिएको आधुनिक बसपार्कलाई बसपार्क कै रुपमा संचालन गर्नुपर्ने माग राख्दै स्थानिय र जग्गादाताहरुले बिरोध गरेपछि इनरुवा नगरपालिकाले निर्णय फिर्ता लिएको थियो । त्यसपछि कोशी प्रादेश प्रहरी अस्पताल बेलबारीमा स्थापना भएको थियो ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बेलबारीमा ठाउँ साँघुरो भएका कारण अस्पताललाई फराकिलो ठाउँ आवश्यक भएकोले इनरुवा सारिएको दाबी गरेका छन । बेलबारीमा इलाका प्रहरी कार्यालय नयाँ भवनमा सरेपछि पुरानो भवनमा अस्पताल सञ्चालन गरिएको थियो । तर साँघुरो भवनमा अस्पतालका लागि आवश्यक उपकरण राख्ने ठाउँ नभएपछि इनरुवा सारिएको बास्तोलाको भनाई छ । उनले बेलबारीमा ठाउँ सानो भएकोले खुला र भौतिक संरचना भएको ठाउँ इनरुवामा सारिएको बताएको छ ।

इनरुवामा जिल्ला समन्वय समितिको दुई बिघा तीन कट्ठा जग्गा छ । भने भौतिक पुर्वाधार समेत तयारी अवस्थामा रहेकोले अस्पताल संचालन गर्न सहज हुने भएकोले बेलबारीबाट सारिएको भनाई अस्पतालको छ ।

प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुनःस्थापनाको माग

प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुनःस्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरुद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गतेसुनसरीको इनरुवा सारिएपछि स्थानीयहरु रुष्ट बनेका छन । प्रदेश प्रहरी अस्पताललाई पुनः बेलबारीमा स्थापित गराउन माग गर्दै आइतबार संघीय राजधानी काठमाडौँ पुगेका मोरङका राजनीतिक दलका नेताहरु प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका छन ।


बेलबारीका मेयर दिलप्रसाद राई, उपमेयर नितु तथा कोइराला, राष्ट्रिय सभा सदस्य विना पोख्रेल, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गिता तिम्सिना, नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बू, नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई, नेकपा माओवादी केन्द्रका नेता सावित्रीकुमार काफ्ले, तिलकप्रसाद राई, नेकपा माओवादी केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी र नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, कांग्रेस नेता डिल्लीराम गिरी लगायतले प्रधानमन्त्री प्रचण्डलाई प्रदेश प्रहरी अस्पताललाई पुनः बेलबारीमै स्थापित गराउन माग गरेका छन् ।

भेटवार्ता सकारात्मक र उपलब्धिमूलक बनेको नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बूको बुझाई छ । उनले ‘प्रधानमन्त्रीज्यू सकारात्मक हुनुभएको छ त्यसैले पनि हामी अस्पताल पुर्नस्थापना हुनेमा ढुक्क छौँ’।

अस्पताल इनरुवामा संचालन गर्र्न माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामा नै संचालन गर्न माग राख्दै सुनसरीका क्रियाशिल राजनीतिक दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–२ स्थित जिल्ला समन्वय समिति सुनसरी इनरुवाको परिसरमा संचालन रहेको कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई उद्घाटन र संचालन गर्न ढिलासुस्ती भइरहेकोले इनरुवामै संचालन गर्नका लागि सुनसरीका राजनीतिक दलहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन ।

प्रहरी अस्पताल संचालनका लागि पूर्वाधारका बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउँदै सुनसरीको १२ वटै स्थानिय पालिकाहरुको आर्थिक सहयोगमा लाखौं रकम खर्च भइसकेको हुदाँ इनरुवामा नै राख्नका लागि अनुरोध गरिएको छ ।

हामी सम्पूर्ण नगरबासी, र सरोकारवालाहरुको लामो अथक प्रयासपछि सम्भव भएको कोशी प्रादेशिक प्रहरी अस्पताल जुनसुकै परिस्थितिमा इनरुवामै रहनुपर्छ भन्ने माग राख्दै सम्माननीय प्रधानमन्त्रीज्यू, समक्ष यो ज्ञापनपत्र बुझाएका छौं । अन्यथा हामी यस क्षेत्रका बासिन्दा आन्दोलन गर्न बाध्य हुनेछौं, ज्ञापन पत्रमा भनिएको छ ।

सुनसरीका २० जना राजनीतिक दलहरुका प्रतिनिधिहरुद्वारा हस्ताक्षरित ज्ञापन पत्र प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर हस्तान्तरण गरेको थियो । प्रधानमन्त्री प्रचण्डले ज्ञापन पत्र बुझदै सकारात्मक प्रकृया दिएको जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले जानकारी दिएका छन ।
सुनसरीका टोलिले नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई समेत कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामा संचालन गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800