काठमाडौँ, १५ पुस । सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा छानबिन समिति गठन गर्ने सहमति बनेको हो ।
त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबारै निर्देशन दिएका छन् । सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने र सोमबारबाटै काम सुरु गर्नेछ ।
‘पूर्व न्यायाधीशको नेतृत्वमा बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, ‘आइतबार बस्ने क्याबिनेट बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्छ र सोमबारबाटै समितिले काम थाल्छ ।’
रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाईसकेकोे छ ।