इनरुवा, १० असार । इनरुवा नगरपालिकाको आगामी आर्थिक बर्षको लागि ७७ करोड ३५ लाख ९७ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत भएको छ ।
आज नगरपालिकाको १३ औं नगरसभामा नगर उपप्रमुख विनिता कुमारी मेहताले उक्त रकम बरावरको आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेकी हुन ।
उपप्रमुख मेहताले आर्थिक बर्ष २०८१।०८२ को बार्षिक नीति, कार्यक्रम तथा आय व्ययको अनुमानित बजेट प्रस्तुत गर्दै संघीय समानिकरण अनुदान १७ करोड २४ लाख, संघीय शसर्त अनुदान चालु ३० करोड ५२ लाख, संघीय समपुरक अनुदान ६५ लाख, प्रदेश समानिकरण अनुदान १ करोड १० लाख ६ हजार, प्रदेश समपुरक अनुदान १ करोड ३० लाख, प्रदेश शसर्त अनुदान २ करोड ३ लाख रहेको बताइन ।त्यस्तै संघीय राजश्व बाँडफाड १२ करोड ९७ लाख, प्रदेश राजश्व बाँडफाड ८८ लाख २६ हजार र मालपोट रजिष्टे«शन शुल्क, अन्य राजश्व सहितको आन्तरिक श्रोत १० करोड ६६ लाख ६५ हजार गरि आगामी आर्थिक बर्ष ०८१।०८२ को कुल अनुमानित आय ७७ करोड ३५ लाख ९७ हजार रहेको बजेट प्रस्तुत गरेकी हुन ।
नगरपालिकाले आगामी आर्थिक बर्षमा भौतिक पूर्वाधार निर्माणलाई बिशेष प्राथमिकतामा राखि १७ करोड १४ लाख ३८ हजार ८ सय रुपैया बजेट विनियोजन गरिएको नगरप्रमुख केदार भण्डारीले जानकारी दिए ।
दलित, विपन्न, सिमान्तकृत तथा विपन्न मुस्लिम परिकारका सामुदायीक विधालयबाट कक्षा १० उर्तिण हुने छात्रालाई प्रोत्साहन स्वरुप साईकल उपलव्ध गराउने नीति कार्यक्रममा समेटिएको छ ।
नागरिक समाजको धर्ना
इनरुवा नगरपालिकाको शिक्षा, स्वास्थ्य लगायतको बिषय नीति तथा कार्यक्रम समेटन दबाव दिन नागरिक समाजले इनरुवा नगरपालिकामा धर्ना दिएका थिए । उनीहरुले नगरपालिका भित्र प्ले कार्डमा विभिन्न मागहरु सहित प्रदर्शन गरेका हुन ।