ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा

Logo
Popular News शुक्रबार, आषाढ १५, २०८१

इनरुवा, १४ असार । नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ
धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको छ ।

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै अब कोशी प्रदेशका तराईका जिल्लामा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न सहज हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको प्राधिकरणको भनाइ छ । प्रसारण लाइनले करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्नेछ ।

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै पहिलोपल्ट देशभित्र ४०० केभीबाट विद्युत् प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात–निर्यात हुँदै आएको थियो । अब देशभित्र पनि ४०० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु गरिएको हो ।

कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युत्लाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर–इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिने प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800