काठमाडौँ, १८ असार । मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने निष्कर्ष निकाल्दै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।
बैठकपछि सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको जानकारी दिए ।’
अहिले सरकारलाई समर्थन गरेका दलहरूले समर्थन फिर्ता नलिएकाले विश्वासको मत कहिले लिने भन्ने विषयमा केही सोच नबनाएको उनले बताए ।
कांग्रेस र एमाले मिलेर ०४७ को व्यवस्थातिर जान खोजेको आरोप लगाउँदै पौडेलले यस विषयमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको बताए ।
नियमित काम जारी राख्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्रीहरूलाई नियमित काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही मन्त्रीहरूसँग छलफल गर्दै मिडियामा सरकार फेरबदलको कुरा आउँदैमा आफ्नो काम नछोड्न आग्रह गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए ।
अहिलेसम्म कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियमित कामहरू जारी राख्न भनेको उनले उल्लेख गरे ।