काठमाडौँ, १८ असार । नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबारसम्ममा राजीनाम दिन आग्रह गरेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुरुप संविधानको धारा ७६ (२) को व्यवस्थाबमोजिम सरकार निर्माणका लागि बुधबारसम्ममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसद्मा रहेका सबै दलहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
यता नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।