काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका छन् ।
प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।
‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमति अनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।