विराटनगर, २२ असार । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तक संग्रहको विमोचन गरिएको छ ।
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तक संग्रहको विमोचन गरिएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज गीतकार रमेश पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।
विमोचित कृतिमाथि समालोचक हरि कट्टेलले समीक्षा गरेका थिए । उनले मुक्तकसंग्रहले राजनैतिक, सामाजिक, आर्थिक, पारिवारिक विषयवस्तुलाई सशक्त रुपमा उठाएको बताए । उनले संग्रह पठनीय र संग्रहनीय भएको चर्चा गरे । सो अवसरमा साहित्यकार तीला लेकाली, विनोद विवश, रोहिणी रसिक, मञ्जु घिमिरे दाहाल, स्वीकृति रेग्मी, लक्ष्मी रायमाझी, मञ्जुश्री गिरी, प्रिन्स प्रमोदकुमार ढकाल, मदन भण्डारीलगायतले विमोचन भएको संग्रहभित्रका मुक्तक वाचन गरेका थिए ।
मुक्तक प्रतिष्ठान कोशी प्रदेशले प्रकाशित गरेको संग्रहमा १५२ वटा मुक्तक रहेका छन् ।