सुनसरी, १४ साउन । कोशी प्रदेशमा पछिल्लो समय प्रतिबन्धित लागुऔषधको कारोवार व्यापक रुपमा बढदै गएको छ । भारतबाट लागुऔषध भित्राउने र नेपालबाट गाँजा भारत पठाउने गिरोह सकृय रहेको छ । सुरक्षा निकायले दिनहु जसो यस्ता कारोवारीहरुलाई नियन्त्रणमा लिने गरेको भएपनि कारोवार भने बढदै गएको छ ।
आईतवार झापाको मेचिनगर नगरपालिका–६ स्थितबाट इलाका प्रहरी कार्यालय काकँडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टबाट खटिएको प्रहरीको टोलीले मेचीनगर–७ का २८ बर्षीय झक बहादुर खड्का र ३० बर्षीय खडग बहादुर दर्जीलाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै राती बुद्वशान्ति गाँउपालिका– ४ स्थितबाट स्थानिय २५ बर्षीय सम्बर राई र २३ बर्षीय सुरेन्द्र राईलाई १ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय धुलावारीले आईतवार नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय चतराले बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी पुलबाट प्रदेश १–०२–०४९ प १२५१ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र –२ का २९ बर्षीय मिलन तामाङलाई प्रतिबन्धित औषधी स्पासरेस्ट ५०० पिस ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (PIT) र प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका–६ स्थितमा प्र.१–०२–०५३ प ७२०७ नम्बरको मोटरसाईकलमा रहेको ३ वटा झोला चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधी ट्रमाडोल २९ हजार ६४० चक्की बरामद गरेको छ ।
सुनसरीबाट एक क्विन्टल गाँजासहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले सुनसरीबाट एक क्विन्टल बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इनरूवा नगरपालिका–९ बबिया चोकबाट आइतबा एक क्विन्टल १६ केजी गाँजासहित धनकुटाको साँगुरीगढी गाउँपालिका–१ बूढी मोरङ बस्ने ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बूलाई पक्राउ गरेको हो ।
त्यस्तै देवानगञ्ज गाउँपालिका ५ बाट भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित ६ किलो गाँजा र भोक्राहा नरसिंह ८ बाट साइकल सहित ६ किलो गाँजा समेत बरामद भएको सशस्त्र प्रहरी नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ ।
प्रतिवन्धित औषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।