विराटनगर, २७ साउन । झापामा भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट उनीहरु पक्राउ परेका हुन ।
अर्जुनधारा–४ का १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
अर्जुनधारा–७, मिलडाँडाकी इन्दिरा अधिकारीको किराना पसलमा गत साउन २५ गते राति ताला फुटाएर नगद र सामान चोरी भएको उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेले घटनामा संलग्नको खोजी सुरु गरेको थियो । चोरीमा संलग्नको खोजी गर्ने क्रममा शनिबार राति उनीहरूलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता चन्दले बताए ।
प्रहरीले उनीहरूको साथबाट चोरीको सामान र अर्जुनधारा–४ का २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाएर राखिएको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले आदित्यको साथबाट चाँदीको सिक्री एक थान, नेपाल टेलिकमको ५० दरको रिचार्ज कार्ड १९ थान, छिरिङ तामाङको साथबाट चाँदीको औँठी दुई थान, चाँदीको पाउजु दुई थान, चाँदीको सिक्री एक थान, एनसेल कम्पनीको ५० दरको रिचार्ज कार्ड पाँच थान र निखिल तामाङको साथबाट चाँदीको सिक्री एक थान बरामद गरेको छ ।