आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

Logo
Popular News सोमबार, भाद्र ०३, २०८१

इनरुवा, ३ भाद्र । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गरेको छ ।

तराई मधेशमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता रहेकोछ ।

शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने गर्दछन् ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाई ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800