पेट्रोलियम पदार्थको मूल्य घट्यो

Logo
Popular News शनिबार, भाद्र १५, २०८१

काठमण्डौ, भदौ १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको जानकारी गराएको छ ।

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जानकारी गराएको छ ।

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टीतेल प्रतिलिटर क्रमशः एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800