काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण विपद्मा परेर घाइते भएकाहरूलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।
नागरिकलाई उद्धार र राहतमा सरकारले प्राथमिकतामा राखेको उनले बताए । साथै सरकारले सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।
मन्त्री गुरुङका अनुसार बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेको उपचार र निधन भएकाहरूलाई दिनुपर्ने राहत रकम नियम अनुसार प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै तत्काल र अविलम्ब अवरुद्ध सडक खोल्न भौतिक मन्त्रालयले पहल गर्ने तथा अवरुद्ध टेलिफोन र विद्युत् नियमित गर्न सम्बन्धित मन्त्रालयले पहल गर्ने निर्णय भएको मन्त्री गुरुङको भनाइ छ ।
साथै बैठकले २/३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरेको छ ।