काठमाडौ, १३ असोज । सिहदरवामा बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ ।
आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर सरकारका गतिविधि अघि बढाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बाढी पहिरोका कारण प्रभावित तथा घाइतेको तत्काल खोज तथा उद्धारमा जुट्ने निर्णय गरेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न ९ निर्णय गरेको छ ।
बैठकले बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरी पुनर्निर्माणको लागि आवश्यक प्रक्रिय अघि बढाउने निर्णय पनि गरेको छ ।
बाढीपहिरोबाट घरवास गुमाएका पिडितहरूका पुनर्स्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि भएको छ ।
यस्तै विनाशकारी बाढीका कारण महामारी उत्पन्न हुनसक्ने भन्दै न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयले निरोधात्मक र आवश्यक जनशक्ति सहित औषधी उपचारको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।
त्यस्तै नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै उद्योग मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा खाद्यान्न, तरकारी ग्यासलगायतका बस्नु सुपथ मूल्यमा उपलब्ध गराउने निर्णय गरेको छ ।
बाढी पहिरोका कारण कृषिमा पुगेको क्षति सम्बन्धित मन्त्रालयले सङ्कलन र घरवास गुमाएकाहरूका लागि आवासको प्रबन्ध सहरी विकास मन्त्रालय गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा विपक्षी दलहरूले सरकारले विपदमा जति सक्रियता देखाएर खोज तथा उद्धार गर्नुपर्ने हो त्यति नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।