इनरुवा, २४ असोज । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा आगलागी हुदाँ करोडोको क्षति भएको छ ।
बुधबार बेलुका हनुमन्ते गलैचा उद्योगमा भएको आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ । उद्योगको गोदाममा राखेको रु ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।
आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैँचा, सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको जनाएकोछ ।
सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार “उद्योग सञ्चालनका क्रममा विद्युत् सर्ट भइ आगलागी भएको हो, आगो ठूलो भागमा भित्रभित्र फैलिएको कारण नियन्त्रण गर्न गाह्रो भएको थियो ।”
आगलागी सुरु भएसँगै बिराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्त तिमल्सिनाले जानकारी दिए ।