सुनसरी, २७ असोज । सुनसरी, मोरङ र झापामा भएका मोटरसाइकल दुर्घटनामा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका–८ जुटमिलस्थित सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प १७७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ बस्ने ५८ वर्षीया डुकमाया सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङको बुढिगंगा गाउँपालिका–५ पोठिया चोकस्थित सडकमा कोयलपुरबाट नेमुवातर्फ जाँदै गरेको प्र–१–०२–०५० प ५०९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ आयुस चौधरीको मृत्यु भएको छ ।
शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुढिगंगा गाउँपालिका–२ अमाही बस्ने १६ वर्षीय चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापामा तीव्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
शनिवार राति पूर्व–पश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका ४ स्थित अमलडाँगीमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको छ ।
उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको र चिकित्सकले चेकजाँचपछि दुवैजनालाई मृत घोषित गरेका थिए ।