नेपालगञ्ज, २७ असोज । जुम्लाबाट गत साउन देखि असोजको पहिलो हप्तासम्ममा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ जिल्ला बाहिर पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जुम्लामा ३८ करोड १० लाख आम्दानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार गत साउनदेखि यही असोज ८ गतेसम्ममा सडक तथा हवाई यातायातमार्फत स्थानीय स्याउ जिल्ला बाहिर पठाइएको जानकारी दिए । उनले जुम्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको जानकारी दिए ।
जुम्ला जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउखेती भए पनि उत्पादन भने दुई हजार आठ सय हेक्टरमा मात्र हुने गरेको कार्यालयले जनाएको छ । आठवटै स्थानीय तहका करिब १६ हजार परिवार स्याउ खेतीमा निर्भर रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिए।
उनले जिल्लामा स्थानीय जातका जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फूजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको जानकारी दिए । बगैँचामा पुगेर व्यापारीले प्रतिकेजी रु ६५ का दरले स्याउ खरिद गर्दै आएको कृषकहरु बताउँछन् ।