इनरुवा, २९ असोज । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले कानुन विपरित वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । उपमेयरलाई कार्यवाहकको जिम्मेवारी नदिएर प्रमुख साम्पाङले धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागूलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
प्रमुख साम्पाङ अक्टोबर १७ देखि नोभेम्बर २ सम्म भ्रमणमा जान लागेकोले आज मंगलबारदेखि लागू हुने गरी वडाध्यक्ष फागूलाई कार्यवाहक प्रमुखको जिम्मेवारी तोकेका हुन् । उनी झण्डै १७ दिन लामो बेलायत भ्रमणमा जान लागेका छन् ।
नगर प्रमुखको अनुपस्थितिमा उनले गर्दै आइरहेको कामकारवाही उपप्रमुखले गर्ने कानुनी व्यवस्था छ । तर प्रमुख साम्पाङले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष फागूलाई ५ बुँद्धे लिखित निर्देशन सहित कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
उपप्रमुख अइन्द्रबिक्रम बेघासँग पछिल्लो समय प्रमुख सम्पाङसँग राम्रो सम्बन्ध छैन । प्रमुख साम्पाङका क्रियाकलापहरु गैरराजनीतिक चरित्र र नियम कानुनविपरीत हुनथालेपछि बेघाले सम्पाङका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै कतिपय विषयमा प्रतिवादसमेत गर्न थालेका थिए । सोही कारण प्रमुख वैदेशिक भ्रमणमा जाने क्रममा उपप्रमुखलाई नभई वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको अनुमान गरिएको छ ।
प्रमुख साम्पाङ बेलायतस्थित नपालीहरुको निम्तामा दुईसाता लामो भ्रमणमा जान लागेका हुन् । उनले कर्मचारी नियुक्त गर्न नपाउने, दश राजनीतिक दलले तोडफोड गरेको संरचना मर्मत गर्न नपाउने, दैनिक ५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्न नपाउने आदि सीमा तोकेरै दैनिक प्रशासन सञ्चालन गर्न कार्यवाहकको जिम्मेवारी दिएका छन् ।