विराटनगर, २२ कार्तिक । मानव तस्करीको गम्भीर आरोपमा मुछिने अवस्था बनेपछि पदबाट राजीनामा दिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले गिरोहको फन्दामा आफू पनि परेको बताउँदै छानविनमा सहज होस् भनेर राजनीमा दिएको बताएका छन् ।
गैरकानुनी रुपमा प्रदेश सरकार र मुख्यमन्त्रीलाई औपचारिक जानकारीसमेत नदिई अधिकारी कात्तिक १३ गते जापान उडेका थिए । उनीसँगै नक्कली परिचयपत्र बनाएरका तीन व्यक्ति पनि जापानमा गएर लुकिछिपी बस्ने योजनासहित उडेका थिए । तर, उनीहरुलाई जापान टोकियो विमानस्थलबाटै डिपोर्ट गरिदिएपछि तीन जना पक्राउ परेका छन् ।अधिकारीले कसले जापान बोलायो र कसरी उनी गिरोहसँग जोडिएर हिँडे भन्ने खुलाएका छैनन् । प्रहरीले यो विषयमा ६ जनालाई नियन्त्राणमा लिएर अनुसन्धान गरिरहेको छ।
विवादमा तानिएपछि राजिनामा दिएका मन्त्री अधिकारीले यो प्रकरणमा ठूलो गिरोह संलग्न रहेको दावी गरेका छन् । नेपालबाट जापानको लागि आफू एक्लै उडेकोमा हङकङ ट्राञ्जिटमा तीन व्यक्तिले मन्त्रालयको परिचयपत्रसहित तपाईसँगै जापान जान लागेको बताएको उनको दावी छ । आफू फसेको जानकारी पाएपछि प्रहरीलाई खबर गरेको र जापानको कार्यक्रममा सहभागी नभई नेपाल फर्किएको उनले बताएका छन् ।
आफ्नो जस्तो निजी भ्रमणमा धेरै मान्छे गएको दावी गर्दै अधिकारीले कोशी प्रदेशकै बहालवाला मन्त्रीहरु कुनै निर्णय र अनुमतिविना भारत गएको पनि दावी गरे । ‘यद्यपी प्रश्न उठेपछि आफै राजीनामा दिएको हुँ’ उनले भने, ‘आयोजहरुसँग नै दलालको संलग्नता भएको आशंका उत्पन्न भएको छ । प्रहरीले अनुसन्धान गर्दैछ ।’
अधिकारी आफूसँग जापान जान खोजेका व्यक्तिहरुलाई नचिनेको र उनीहरुको बारेमा केहि जानकारी नभएको बताएका छन् । यद्यपी यो प्रकरणमा ठूला व्यक्तिहरु पनि संलग्न रहेको उनले दावी गरे । ‘मलाईसमेत फसाउन खोजेको रहेछन्, ठुलो सञ्जाल यसमा जोडिएको जानकारी पाएको छु’ उनले भने, ‘ठूला मान्छे र ठूला नेता पनि संलग्न रहेकोले उनीहरु पनि पक्राउ पर्ने जानकारी छ ।’
मन्त्री अधिकारीले एमालेको पार्टी कार्यालय र संसदीय दलको कार्यालयमा रहने आफ्नै निर्वाचन क्षेत्रको एक व्यक्तिमार्फत कार्यक्रमको निम्ता आएको बताएका छन् । तर, ती व्यक्तिबारे भने उनले जानकारी दिएन चाहेनन् । ‘उसलाई पनि फसाएको हो, उन निर्दोश छ’ उनले भने, ‘विचरा मेरै निर्वाचन क्षेत्रको मान्छे हो, मुख्यमन्त्रीलाई पनि उसको बारेमा जानकारी दिएको छु ।’
अधिकारीलाई मोरङको रतुवामाई नगरपालिका निवासी एमाले कार्यकर्ता गोपाल गौतमले टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन जापान जाने प्रबन्ध मिलाइदिएका थिए ।