कारागारबाट दुई पटक भागेका कैदी कोशी ८ बाट पक्राउ

Logo
Popular News शुक्रबार, कार्तिक २३, २०८१

इनरुवा, २३ कार्तिक । दुईपटक कारागारबाट सुरूङ खनेर भागी फरार रहेका विनायक कुमार यादवलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका यादव गएराति नेपाल–भारत सीमाको कोशी गाउँपालिका–८ बाट पक्राउ परेका हुन् । छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राम प्रसाद तिमल्सिनाले यादवलाई पक्राउ गर्ने क्रममा एक राउन्ड गोलीसमेत फायर गर्नुपरेको जानकारी दिए । यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भएका थिए ।

अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९ साल कात्तिक २३ गते सुरुङ खनेर भागेका थिए । त्यसबेला उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतका धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए ।

झुम्का कारागारबाट भागेका विनायकलाई केही समयपछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । त्यसपछि कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी भूकम्प गएको मौका छोपी त्यहाँबाट २०७२ साल वैशाख १२ गते भागेका थिए ।

प्रहरीका अनुसार झुम्का कारागारबाट सुरुङ खनेर भागेका १२ जनामध्ये अहिलेसम्म नेपाल र भारतमा गरी सात जनामात्रै पक्राउ परेका छन् ।

यादवलाई बाँकी सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले बताएको छ । उनले अब भुक्तान हुन बाँकी रहेको सजायको डेढी सजाय भोग्नु पर्नेछ । कारागार ऐन २०१९ को दफा २४ को ३ मा ‘कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाइ सजाय हुने’ प्रावधान छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800