विराटनगर, १३ मंसिर । कोशी प्रदेश मातहतको स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख रुपैयाँ बेरुजू देखिएको छ ।
कोशी प्रदेशका स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजू भएको बताए ।
मन्त्री राईका अनुसार स्वास्थ्य मन्त्रालय अन्तरगत गत आर्थिक वर्षमा मात्रै १२ करोड ५ लाख बेरुजू भएको छ । मन्त्रालय अन्तरगत आर्थिक वर्ष २०७९/८० मा ११ करोड २७ लाख रुपैयाँ बेरुजू देखिएको थियो । उनले बेरुजु मध्ये नियमित गर्नुपर्ने बेरुजू ३७ करोड ६२ लाख ७८ हजार रुपैयाँ रहेको बताए ।
मन्त्री राईले ४१ करोड ३९ लाख बेरुजु मध्ये ३ करोड ५ लाख १ हजार रुपैयाँ असुली गर्नु पर्ने देखिएको बताए । मन्त्रालयमा पेस्की बेरुजू भने ७१ लाख ३३ हजार रुपैयाँ छ । मन्त्री राईले मन्त्रालयको बेरुजू कम गर्नका लागि प्रयास भइरहेको जानकारी दिए ।