इनरुवा, १५ मंसिर । जिल्ला प्रशासन कार्यालय सुनसरीले १६ मंसिरमा हुने उपनिर्वाचनको अवधिमा सवारी साधन आवत–जावतमा रोक लगाइएको छ ।
प्रशासनले शुक्रवार जारी गरेको सूचनाका अनुसार “मिति २०८१ मंसिर १६ गते हुन गइरहेको गढी गाउँपालिका वडा नं. ६ को वडाअध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मिति २०८१ मंसिर १५ गते राति १२ः०० बजेदेखि मिति २०८१ मंसिर १६ गते मतदान कार्य सम्पन्न नभएसम्म इनरुवा–दहुवी सडक खण्ड र जिल्लाका निम्न स्थानबाट सबै किसिमका सवारी साधनलाई (अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनहरु बाहेक) गढी गा.पा. क्षेत्रतर्फ प्रवेश गर्न रोक लगाइएको हो । यो सूचनाको परिपालना नगरेमा सवारी साधन कब्जामा लिई कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।” भन्ने उल्लेख गरिएको छ ।
आवतजातव बन्द हुने प्रवेश विन्दुहरुमा गढी २ भमरी चौक, पश्चिममा इनरुवा–९, थलाहा पुल (बलाहा नहर), भुटाहा–जल्पापुर जोड्ने पुल, दक्षिण हरिनगर गा.पा. ३ कठले खोला पुल गौतमपुर, चन्द्रमोहन सिंचाई पुल, देवानगंज गा.पा.७. मध्यहर्षाही (हुलाकी राजमार्ग), पुर्वमा केशलिया खोला पुल, शुक्रबारे, शारदा आधारभूत विद्यालय, चरैया, दुहवी न.पा. १०, सिमरिया, हरिनगर–भुटाहा जोड्ने पुल, चिमडी बजार र तनमुना सूचनामा उल्लेख छ ।