काठमाडौ, १५ मंसिर । शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले विजयी भएको छ ।
उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटको जितका साथ एनपिएलको यात्रा सुरू गरेको हो।
विराटनगर किंग्सले जितका लागि प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो ।
स्कोरबोर्डमा १५ रन हुँदा कप्तान अनिल साह ५ रन बनाएर पभेलियन फर्किए ।
त्यसपछि लाहिरु मिलान्था र हर्ष थाकेरले शतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म डो¥याए । मिलान्थाले अर्धशतकीय इनिङ्स खेल्दै ७५ रन बनाए । उनले मात्र ५३ बलमा ९ चौका र ३ छक्का हिर्काए । हर्षले २९ रनको योगदान दिए । विराटनगरका लागि क्रिस सोल र प्रतीश जिसीले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । टोलीका लागि अनुभवी ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाए । उनले ४३ बलमा ५५ रनको इनिङ्स खेले । यसक्रममा उनले ७ चौका र एक छक्का हिर्काए । अकिब इलियासले १८ बलमा १५ रनको योगदान दिए । बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले ७–७ रन जोडे ।
जनकपुरका लागि ललित राजवंशीले शानदार बलिङ गर्दै ३ विकेट लिए । ४ ओभरमा उनले मात्र २८ रन खर्चिए । त्यस्तै, हर्ष थाकेरले २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । किशोर महतोले २ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए ।