विराटनगर, १६ मंसिर । ३७ औं विश्व एचआईभी एड्स दिवसको अवसरमा विराटनगर महानगरपालिकाको अगुवाईमा प्रभातफेरी गरिएको छ ।
आइतवार ३७ औं विश्व एचआईभी एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको हो । महानगर परिसरबाट सुरु भएको प्रभातफेरी बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दैै महानगरपालिकाका मेयर नागेश कोइरालाले एचआइभी एड्सको जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए । महानगरले एचआइभी एड्सजस्ता घातक रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बजेट विनियोजन गरेर काम गरिरहेको उनले सुनाए ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक ज्ञानबहादुर बस्नेत, महानगरका स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादव, एएचएफ नेपालका केशव बजगाईंलगायतले आफ्नो धारणा राखे ।
महानगरको नेतृत्वमा भएको प्रभातफेरीमा परिवर्तनशील समाज, एएमडीए नेपाल, रिकोभरिङ नेपाल, स्पर्श नेपाल, रिचमण्ड फेलोसिप मोरङलगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।