ईनरुवा, २१ मंसिर । सीताराम विवाहपञ्चमी महोत्सव आज धुमधाम साथ मनाइँदै छ।
मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ ।
मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो। त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ त्यसरी नै अहिले पनि राम–जानकीको डोलालाई स्वयम्बर गराएर वैदिक परम्पराअनुसार विवाह गर्ने गरिएको छ ।
आज दिउँसो बाजागाजा र झाकीसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्कन्छ । यी डोलाहरू जनकपुरको ऐतिहासिक रंगभूमि मैदान, बाह्रविघामा पुगेर मिलन भएपछि डोलाफेर गरी स्वयम्बर गरिन्छ ।
राम मन्दिरका महन्थ रामगिरी भगवान रामका पिता राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव राजा जनकको भूमिकामा छोरी पक्षको प्रतिनिधित्व गर्छन् ।
स्वयम्बरपश्चात दुवै डोलाले नगर परिक्रमा गर्दै जानकी मन्दिरमा प्रवेश गर्छन् । साँझदेखि वैदिक परम्पराअनुसार राम र जानकीको विवाह विधि सुरु हुन्छ। मैथिली परम्पराअनुसार रातभर विशेष विवाह विधि सम्पन्न गरिन्छ ।
राम र जानकीको डोला अवलोकन गर्न र स्वयम्बर तथा विवाह समारोह हेर्न जनकपुरधाममा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । यसपटक अयोध्याबाट आएका साधुसन्तहरूको जन्तीले महोत्सवलाई थप रौनक बनाएको छ।
इनरुवामा रथयात्रा निकाल्ने :
इनरुवा ४ स्थित रामजानकी मंन्दिरबाट आज विवाहपञ्चमीको अवसरमा रथयात्रा निकाल्ने भएको छ ।
रामजानकी गुठी संस्था इनरुवाको आयोजनामा रथयात्रा निकाल्न लागेको संस्थाका अध्यक्ष हरिलाल मेहताले जानकारी दिए ।
रथयात्रा इनरुवा ४ मा रहेको मंन्दिरको प्रडनबाट शूरु भएर इनरुवा २ मा रहेको लक्ष्मी नारायण मन्दिर हुदै इनरुवाको परिक्रमा गरिने अध्यक्ष मेहताले बताए ।
यस अवसरमा इनरुवा नगरपालिका र हरिनगर गाउँपालिकाले सार्वजानिक विदा दिएको छ ।