विराटनगर, १९ माघ । विराटनगरमा सुकुम्बासीको घर निर्माणमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको विराटनगर– १६ दरैयाका सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् ।
आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो । उनका लागि शुक्रबार सांसद मण्डलको पहलमा जस्तापाताले छाएको अस्थायी घर निर्माण भएको हो ।
घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो । घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल,भाडावर्तन र खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका थिए ।
जाडो मौसममा पाँच जनाको परिवार कष्टकर रुपमा बसिरहेको गुनासो आएपछि घर निर्माण गरिएको सांसद मण्डलले बताए । ‘यहाँ आएर हेर्दा अवस्था दयानिया थियो, १० दिनअघि डस्ना र सिरक उपलब्ध गराइएको थियो,’ मण्डलले भने,‘ विभिन्न क्षेत्रको समन्वयमा आज श्रमदान गरेर अस्थायी घर निर्माण गरेका छौं ।’ उनले श्रमदानको अभियान निरन्तर चल्ने बताए ।
मुख्यमन्त्री कार्कीले गरीब, दलित, सुकुम्वासीको साथमा सरकार छ भन्ने सन्देश दिनका लागि घर निर्माणमा श्रमदान गरेको बताए । विपन्नलाई सरकारको अनुभूति गराउने गरी काम गरिरहेको उनले बताए । ‘निर्वाचनका बेलामा गरेको बाचा पूरा गर्न श्रमदान गरिरहेको छु,’ उनले भने,‘ गरीबका दुःख समाजका सबैले बुझेर एक अर्कालाई सहयोगको भावना विकास गराउनुपर्छ ।