इनरुवा, २ चैत । उपभोक्ता अदालत यथासिघ्र गठन गर्न माग गर्दै उपभोक्ता मञ्चले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । उपभोक्ता हक अधिकार संरक्षणका लागि गठन गरिएको उपभोक्ता मञ्च नेपाल, मञ्चको कोशी प्रदेश र सुनसरी शाखाले ज्ञापनपत्र बुझाएको हो ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मञ्चका केन्द्रिय अध्यक्ष आन्नन्द थापा, कोशी प्रदेश अध्यक्ष डिल्लीराम दाहाल तथा सुनसरी अध्यक्ष राजु ढकालले संयुक्त रुपमा अन्तराष्ट्रिय उपभोक्त हित दिवशको अवसरमा ज्ञापन पत्र बुझाएको हो ।
मञ्चले ज्ञापनपत्रमा उपभोक्ता संरक्षण ऐन २०७५ मा उल्लेख भएको उपभोक्ता अदालत पाँच वर्ष वित्दा पनि गठन नभएको प्रति ध्यानाकर्षण भएको भन्दै यथासिर्घ गठन गर्नुपर्नेमा माग गरिएको छ । प्राप्त भएको ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने प्रजिअ आचार्यले प्रतिक्रिया दिए ।
हालै इटहरी उपमहानगरपालिकामा मञ्चको भेलाले अधिवक्ता राजु ढकालको नेतृत्वमा १३ सदस्यीय उपभोक्ता मञ्च नेपाल, सुनसरी शाखा गठन गरिएको थियोे । सोही समितिका सबै सदस्यहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाएको जनाएको छ । उपभोक्ता मञ्चले आम उपभोक्ताको अधिकारको निम्ती लड्ने र उपभोक्ता अधिकारलाई प्रत्याभूतका लागि कार्य गर्दै आएको समितिका अध्यक्ष राजु ढकालले बताए ।
उनले उपभोक्ता अधिकार प्रत्यक्ष मानव अधिकार भएकाले उपभोक्ता अदालत गठनको माग राखेर ज्ञापन पत्र बुझाएको बताए । मञ्चले खाद्य अधिकार, वातावरणीय अधिकार लगायतका विषयमा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।