काठमाडौ, ९ चैत्र । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ । उनलाई छाड्न प्रहरीले सरकारी वकिलसँग सहमति लिएको थियो । महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन् ।
फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ अनुसार कसुरको गाम्भिर्यता हेरेर अनुसन्धान अधिकृतले हाजिर जमानी, धरौटी वा तारेखमा राख्नसक्ने व्यवस्था छ । तर, अनुसन्धान अधिकृतले छाड्नुअघि सरकारी वकिलको सहमति लिनुपर्छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले महरालाई छाड्न सहमति दिएका हुन् ।
महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।
महरालाई छाड्दा सीआईबीले लिएको ५ आधार
महरालाई छाड्दा सीआईबीले ५ वटा आधार लिएको छ । म्याद थप गर्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालले उनलाई अस्पतालमा राख्न अनुमति दिएका थिए । पक्राउ परेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनलाई बिमारको कारण हिरासत मुक्त गर्नुपर्ने अवस्था आएको सीआईबीको निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘बयानमा पनि उहाँले बिरामी भएको कुरा बताउनुभएको थियो, न्यायाधीशले पनि अस्पताल राख्ने आदेश गरेको अवस्था थियो ।’
महराले ८ प्रकारको औषधी सेवन गरिरहेको र स्वास्थ्य समस्याबारे अस्पतालको कागजातको आधारमा प्रहरीले उनलाई रिहा गर्ने निर्णय गरेको हो । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्,‘उहाँको वृद्ध अवस्था पनि हाजिर जमानीमा रिहा गर्नुपर्ने अर्को कारण रह्यो ।’
पक्राउ गरेपछि प्रहरीले सरकारी वकिलको रोहबरमा महराको बयान पुरा गरेको छ । ‘बयान पुरा भैसकेको छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्,‘हाजिर जमानीमा छाडेर अनुसन्धान गर्ने कानुनी व्यवस्था पनि भएको हुनाले छाड्ने निर्णय गरिएको छ ।