इनरुवा.२८ चैत्र । सुनसरीमा मकै खेतीप्रति किसानको आकर्षण बढेको छ । विगतको वर्षमा मकै उत्पादनमा वृद्धि भएसँगै किसानहरुको मकै खेतीमा आकर्षण बढेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
उत्पादन र बजार मूल्य पनि राम्रो हुने भएकाले किसान उत्साहित हुँदै मकै खेतीप्रति आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह बताए ।
प्रमुख सिंहका अनुसार सुनसरीमा मकै उत्पादन विगत वर्ष भन्दा यस वर्ष करिब १० प्रतिशतले वृद्धि हुने र सरदर ४.७२ मेक्ट्रिक टन प्रति हेक्टरमा मकै उत्पादन हुन जनाएको छ ।
कृषकले खेती गरेपनि समयमा मल अभावले गर्दा बाली उत्पादनमा समस्या हुने गरेको इनरुवा नगरपालिका वडा नं. २ को कृषक नरेश मेहताले बताए । ३ विगाह क्षेत्रमा मकै लागाएको हुँदापनि स्थानीय सरकार लगायत सम्बन्धित निकायले समेत मल उपलब्ध गराउन नसक्दा दोब्बर मूल्य तिरेर छिमेकी राष्ट्रबाट युरिया र पोटास किनेर प्रयोग गर्दै गरेको कृषक मेहताले गुनासो गरे ।
सुनसरीमा लगभग ९ हजार ६ सय ७४ हेक्टरमा मकै खेती हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।