इनरुवा, २८ चैत्र । प्राचिन हरिद्धार भनिने सुनसरीको चतरामा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सुरु भएको छ ।
हिजो मंगलबार पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घघाटन गरेका हुन । कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुम्भ मेलाले सबै जातजाति र धर्मलाई एकै सूत्रमा बाँध्ने मात्र नभई धार्मिक पर्यटन विस्तारमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरका थिए ।
राष्ट्रपति पौडेलले भने, ‘आन्तरिक तथा बाह्रय पर्यटनको प्रवद्र्धन, विभिन्न जातजाति र धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता, सार्वभौमिकताको संरक्षण, संवद्र्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भ मेला नेपालकै गौरव हो । गौरवपूर्ण यो अवसरलाई सदुपयोग गर्दै धार्मिक पर्यटकीय गन्तब्यको बिकास गर्ने कार्यमा योगदान पुग्ने छ भन्ने मैले विश्वास लिएको छु । ’
राष्ट्रपति पौडेलले धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नुभएको र बुद्ध, ईशा र हजरत महमदले पनि यही भनेको उल्लेख गर्दै वैदिक मन्त्र द्रष्टाहरूले हजार वर्षपहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधानबारे उल्लेख गरेका थिए ।
राष्ट्रपति पौडेलले ऋषि महर्षिहरूको तपोभूमि, देवदेवीहरूको क्रिडास्थल, एक पवित्र तीर्थस्थल बराहक्षेत्रको वक्षस्थलमा रहेको प्राचीन हरिद्वार चतरा धामको पवित्र कुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभूति भएको उल्लेख गर्दै चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मात्र होइन विश्वकै चार पवित्र क्षेत्रमध्येको एक मानिएको पनि बताएका थिए ।
राष्ट्रपति पौडेलले नेपाल भौगोलिक, आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले उच्चतम स्थान भएको र हिमालयको काखमा अवस्थित सुन्दर र शान्त नेपालमा कैयौँ महिमामय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थल तथा प्रकृतिको वरदानका रुपमा प्रशस्त नदीनाला, हिमशृङ्खला, तालकुण्ड, आश्रम वा तपोभूमिहरू रहेको उल्लेख गर्दै परापूर्वकालदेखि नै हिमशृङ्खलाबाट उद्गम भएर बग्ने पवित्र नदीहरूको प्रवाह, महान् व्यक्तित्वहरूको जन्म, तपसाधना र उहाँहरूबाट मानव जातिको सर्वोत्तम हितका लागि व्यक्त विचारका कारण यसको आफ्नै महत्व र महिमा रहँदै आएको उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रथम जगद्गुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजले नागरिक अभिनन्दन समेत गरेका थिए ।
पूर्ण महाकुम्भको समुद्घाटन पूर्व जगदगुरु बालसन्त मोहनशरण देवाचार्यसहित हिन्दु धर्मका गुरु तथा अगुवासहितको उपस्थितिमा पहिलो महास्नान गरिएको छ । राष्ट्रपति पौडेलले भने कोशी किनारमा जल चढाई पूजा गरेका थिए । राष्ट्रपतिले श्रीराधा सर्वेश्वर मन्दिरमा दर्शन तथा पूजा, अर्चना गर्नुका साथै त्यहाँ निर्माण गरिएको आचार्य केशवशरण स्मृति भवनको उद्घाटन पनि गरेका थिए ।
महाकुम्भ मेलाको सफलताको शुभकामना व्यक्त गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुम्भमेलाले बराहक्षेत्रको आर्थिक समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । उनले सरकारले यस्ता धार्मिक मेलाहरूलाई सामान्य पूजाआजाका रुपमा मात्र नलिई यसले देशकै पर्यटन तथा आर्थिक गतिविधि चलायमान बनाउने अवसरका रुपमा लिएर सहयोग गरेको बताएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ लगायतले महाकुम्भको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।
कुम्भमेलाका संस्थापक तथा नेपालका प्रथम जगद्गुरु बाल सन्त मोहनशरण देवाचार्यले शास्त्रहरूमा चतरामा कुम्भमेला लगाउने प्रशस्त आधार भेटिएकाले यहाँ कुम्भमेला लगाउन सुरु गरिएको बताएका छन । उनले कुम्भमेलामा सहभागी बन्न सबै नेपालीमा आह्वान पनि गरेका छन ।
महाकुम्भ उद्घाटन कार्यक्रममा नेपाल सरकारको प्रतिनिधि मण्डलसहित कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, सुरक्षा निकायका प्रमुख, पण्डित समाजका विद्वानद्धय डाक्टर हरिप्रसाद अधिकारी र डाक्टर गोपाल अधिकारी लगायत हिन्दु धर्म गुरु, साधुसन्त, महन्त लगायतको उपस्थिति रहेको थियो ।
सुनसरीको चतरामा मंगलबार चैत्र २७ गतेबाट सुरु पूर्ण महाकुम्भ मेला बैशाख २८ गतेसम्म चल्ने छ । महिना दिनसम्म चल्ने महाकुम्भमा शङ्कराचार्य, वैष्णवाचार्य, जगद्गुरु, साधुसन्त, महन्त र धर्माचार्य एवं विद्वानहरुबाट धार्मिक प्रवचनका साथै अनुष्ठान, हवन लगायतका विधिविधान सहितका धार्मिक कार्यक्रम आयोजना हुने आयोजक बाह्रवर्षे पिण्डेश्वर पूर्व महाकुम्भ मेला मूल आयोजक समितिले चतरा सुनसरीले जनाएको छ ।
कुम्भ मेलामा नेपालभरका साथै भारत र तेस्रो मुलुकबाट समेत हिन्दु धर्मका गुरु, अनुयायी तथा भक्तजनहरु आउने आयोजकको विश्वास छ । कुम्भ मेलाले चतराधाम मात्र नभई सुनसरीभरका धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ । महिना दिने पूर्ण महाकुम्भ मेलाका कारण चतरा नगरी चलायमान हुँदा आर्थिक गतिविधि र बिकासमा टेवा पुग्ने आयोजकको ठहर छ ।
विगतमा भारतका विभिन्न स्थानमा मात्र कुम्भमेला लाग्ने गरेकोमा २०५९ सालबाट सुनसरीको चतरामा पनि कुम्भमेला लाग्न थालेको हो । चतरामा हरेक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण कुम्भमेला लाग्ने गरेको छ ।