काठमाडौं, ७ पुष । मगुको सोरु गाउँपालिका–९, खनैयाँस्थित स्वास्थ्यचौकीमा कार्यरत २३ वर्षीया अनमी तुलसाकुमारी विश्वकर्मा जातीय विभेदमा परेकी छन आफैं कार्यरत स्वास्थ्यचौकीका इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा बसेकी उनले जातकै कारण अपमान र तिरस्कार खेप्नुपरेको छ । आठ महिनासम्म विभेद सहेर बसेकी उनले त्यहीकारण जागिर नै छोड्नुपर्ने परिस्थिति बनेपछि विभेदको घटना बाहिर आएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ की तुलसाकुमारी गत माघमा कर्णाली प्रदेश लोक सेवामार्फत नियुक्ति लिएर मुगु पुगेकी थिइन् । उनको पहिलो पदस्थापन खनैयाँमा भयो । तर खनैयाँमा भोग्नुपरेको जातीय भेदभाव र दलित महिलामाथिको हिंसाका कारण आफू जागिर छोडेर हिँड्ने मनस्थितिमा पुगेको उनी बताउँछिन् । दलित भएकै कारण उनी व्यावहारिक र मानसिक रूपमा प्रताडित भएकी छन् । उनी पढेलेखेकी सरकारी कर्मचारी हुन्, तर त्यति हुँदा पनि विभेदविरुद्ध बोल्ने साहस सहजै जुटेको छैन । ‘मुगुमा अनमी तुलसाकुमारी विश्वकर्मालाई गाउँ निकाला, दलितले छोएको औषधि पनि चल्दैन,’ पुस २ को बिहानै अभियन्ता खगेन्द्र सुनारले सामाजिक सञ्जालमा लेखेका छन् । उनको यही पोस्ट भाइरल भएको छ ।
खनैयाँमा मोबाइल नेटवर्कसमेत राम्रो चल्दैन, इन्टरनेट छैन । बिहान उठेर कोठाबाट निस्किन नपाउँदै तुलसा गाउँलेको घेराबन्दीमा परिन् । ‘यस्तो कुरा मिडियालाई किन दिएको ? अबचाहिँ साँच्चिकै गाउँबाट निकाल्छौं’ भन्दै गाउँले आक्रोशित बने । साथीहरूले फोन गरेर सोध्न थालेपछि तुलसाले पनि थाहा पाइन्– आफूमाथि भएको अत्याचारको घटना सामाजिक सञ्जालमा भाइरल छ । अभियन्ता, मिडिया, युट्युबरदेखि आफ्नै माथिल्लो निकायका कर्मचारीसम्मले उनीमाथि प्रश्न बर्साए– आखिर भएको के हो ?
‘वरिपरि गाउँले थिए, मिडियालाई किन दिइस् भनेर कुटपिट नै गरिहाल्लान् भन्ने भइसकेको थियो, फेरि मेरो पक्षमा बोलिदिने कोही पनि थिएन,’ तुलसाले भनिन्, ‘त्यो बेला मलाई न्यायभन्दा ज्यानको सुरक्षा ठूलो लाग्यो, सबैले सुन्ने गरी कराई–कराई भनें– त्यो सबै झूट हो, म ठीक छु, केही भएको छैन ।’ सञ्जालमा फैलिएको घटना प्रहरीसम्म पुग्यो, गाउँमा प्रहरी खटियो । प्रहरीसँगै गाउँपालिकाका दलित जनप्रतिनिधि पनि पुगे । गाउँलेले घेरेपछि थुनिएर बसेकी तुलसा बल्ल खुलिन्, ‘म सानो जातको भनेर यहाँ नबस्नू भनिएको छ, स्वास्थ्यचौकीमा क्वार्टर छैन । सदरमुकाम बसेर यहाँ जागिर गर्न भ्याइँदैन, सरुवा माग्दा दिइँदैन । तपाईंहरू भन्नुस्, अब म के गरूँ ?’ तुलसाले यथार्थ बताएपछि प्रहरी र जनप्रतिनिधिले उनको उद्धार गरेर मंगलबार सदरमुकाम पु¥याएका छन् ।
दोषीलाई कारबाही गर्न माग
सरकारी कर्मचारीमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि चारैतिरबाट पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग भएको छ । मुगुका दलित अधिकारकर्मी र मानवअधिकारवादीले घटनाका विषयमा गहिरो अनुसन्धान र कारबाहीका लागि स्थानीय प्रशासनसँग आग्रह गरेका छन् भने राष्ट्रिय दलित आयोगले समेत घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।