विराटनगर, ५ बैशाख । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा सदस्यहरु विचमा हात हालाहालको अवस्था सृजना भएको छ । बुधबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की र निवर्तमान सचेतक भूपेन्द्र राईबीच हात हालाहालको अवस्था सृजना भएको बैठकमा सहभागी एक सांसदले बताए ।
बिहान १० बजे बोलाइएको बैठक १२ बजेपछि मात्रै सुरु भएको थियो । मुख्यमन्त्री कार्की कुम्भ मेलामा गएको कारण बैठकमा दिउँसो साढे ३ बजेतिर मुख्यमन्त्री बैठकमा प्रवेश गरेका थिए ।
‘मुख्यमन्त्री आउनुभन्दा अगाडि देखि नै सांसदहरुले सरकारको बचाउ गर्न नसकिने लगायतको विषयमा छलफल भईरहेका थिए’ एक सांसदले भने, ‘उहाँ आएपछि बैठकमा माहौल परिवर्तन भयो ।’ मुख्यमन्त्री कार्कीले सरकारलाई पार्टीले असहयोग गरेको भनेर चर्को असन्तुष्टि जनाएपछि विवाद बढेको थियो ।
संसदीय दलका पूर्वसचेतक रहेका भूपेन्द्र राईले सरकारले समन्वय नगरी काम गर्ने अनि सहयोग भएन भन्ने भनेर चर्किएपछि दुईबीच झण्डै हात हालाहालको अवस्था बनेको थियो । ‘झन्डै ५ मिनेट जति चर्काचर्की भएपछि उहाँहरुको आफ्नो ठाउँबाट उठ्नुभएको थियो’ एक सांसदले भने, ‘हामीले दु्बैलाई छेकेकोले अप्रिय घटना हुन पाएन ।’
वर्तमान सरकाले पार्टीसँग समन्वय नगरेको भन्ने विषयमा मुख्यमन्त्री र सांसदहरुबीच चर्काचर्की परेको एक सांसदले जानकारी दिए । बैठकले विपक्षीले संसदमा दर्ता गराएको संकल्प प्रस्तावको फेस गरेर जाने निर्णय गरेको छ ।
मुख्यमन्त्रीले अदालत जान्छु भनेपछि कानुनी बाटो रोज्ने निर्णय गरिएको हो । ‘बहुमत सांसदले मध्यावधिमा नजाने भनेर बैठकमै भनेका छन्,’ काँग्रेस संसदीय दलका नेता उद्धव थापाले भने ‘काँग्रेस मध्यावधिमा जाने पक्षमा छैन ।’ मध्यावधिमा जान हुँदैन भनेपछि मुख्यमन्त्री बैठकमा आक्रोशित बनेको स्रोतले बताएको छ ।
यसैबीच विपक्षीदहरुले संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव परिमार्जन गरेर मात्रै सदनमा पेस गर्ने सहमति भएको छ । बिहीबार बसेको कार्यावस्था परामर्श समितिको बैठकमा माओवादी र एमालेले संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्तावलाई परिमार्जन गर्ने सहमति भएको हो । प्रस्ताव बिहीबार टेबल गर्ने र शुक्रबार निर्णयार्थ पेस गर्ने सहमति भएको छ ।