

इनरुवा, २५ बैशाख । सुनसरीस्थित इनरुवा नगरपालिकाले २ बर्षयता सम्पन्न गरेको विकास योजनाहरुको अनुगमन गरेको छ ।
आज इनरुवा नगर प्रमुख केदार भण्डारी सहितको टोलीले इनरुवा १० जल्पापुरको ७ वटा योजनाहरुको अनुगमन गरेको हो । २ वर्षमा सम्पन्न भएको सडक, पैनी, विद्यालय सहितको विकासका योजनाहरुको अनुगमन गरिएको हो ।
इनरुवाको १० वटै वडामा सम्पन्न भएको र चालु विकास योजनाहरुको अनुगमन गर्ने क्रममा पहिलो दिन इनरुवा ९ र १० नम्बर वडामा अनुगमन गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए ।
सम्पन्न भएको कामको गुणस्तर तथा मुल्याङ्कनका लागि स्थलगत अनुगमन गरिएकोे प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिए । उनले सुशासन र पारदर्शिताका लागि नगर तथा वडामा संचालन भएको योजना तथा आयोजनाहरुको अनुगमन गरिएको बताए ।
अनुगमन टोलीमा इनरुवाका प्रमुख भण्डारी सहित उपप्रमुख विनिता कुमारी मेहता, प्रशासकीय अधिकृत निरौला, वडाअध्यक्षहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।