राजविराज, २७ वैशाख । सप्तरीस्थित सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ ।
नेपाल बैंक लिमिटेड शाखा कार्यालयका फत्तेपुरका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो । मृतक सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुन् ।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएकोे जानकारी दिए ।
सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको डीएसपी न्यौपानेले भने ।
उनले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान गरिरहेको बताए ।
घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।