विराटनगर, २८बैशाख । विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सुरु भएको छ ।उत्सवको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा महानगरपालिकाले काम गरिरहेको बताए । ‘विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि ध्यान दिएको छ,’ मेयर कोइरालाले भने, ‘भाषा, साहित्य, कला, संस्कृति सबै हेर्ने गरी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठान गठन भइसकेपछि महानगर क्षेत्रभित्रका सबै भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सहयोग पुग्ने मैले विश्वास लिएको छु ।’ महानगरले सांस्कृतिक संग्राहालय स्थापनाको योजनासमेत अघि सारेको उनले बताए ।
उत्सवको पहिलो दिन दिवंगत कविहरूका कवितासमेत वाचन गरिएको थियो । सो क्यानभासमा कविता कवि हरिभक्त कटवालको रहर मुकुन्द प्रयास, हिरा आकाशको ‘अक्षरहरू’ मीनकुमार नवोदित, विमल गुरुङको ‘आगो बल्दैछ’ उमेश लुइँटेल, माधवप्रसाद घिमिरेको ‘वैशाख’ मञ्जुश्री गिरी, कृष्ण पाख्रिनको ‘जैनी सुतेकी छे ! नानी सुतेकी छे’ प्रयाग न्यौपाने, ईश्वरवल्लभको ‘मेरो सपना छन्’ विवेक विवश रेग्मी, लक्ष्मीप्रसाद देवकोटाको ‘हुरीको गीत’ भरत गुरागाईं बर्बरिक, वानिरा गिरीको ‘म च्याचिएको पोष्टर’ विवश पोखरेल, सानुमती राईको ‘जल्न देऊ बल्न देऊ’ रोमा निरौला र भूपी शेरचनको ‘पहिरो जाने पहाडमुन्तिर’ शीर्षकको कविता खेम नेपालीले वाचन गरेका थिए ।
दोस्रो दिन शनिबार मातृभाषी कविता वाचन, राजनीति र साहित्यः साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माण ः परिकल्पना र प्रस्तुति, पात्र र लैंगिकता, समकालीन रचना वाचन, गजल गुञ्जनलगायतका कार्यक्रम हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।