

काठमाडौँ, ३१ बैशाख । सरकारबाट जनता समाजवादी पार्टी, नेपाल बहिर्गमन भए संगै नवगठित जसपाको प्रवेश भएको छ ।
जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र सोही पार्टीका वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पदबाट राजीनामा दिएका छन् । भने नवगठित जनता समाजवादी पार्टीका उपमहासचिव समेतरहेक सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सपथ लिएका छन् । उनीसँगै जसपाकी हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । उपेन्द्र यादवले सरकार छोडे लगत्तै जसपा नेपालबाट फुटेर बनेको जसपा सरकारमा प्रवेश गरेको हो ।
जसपा, नेपालका अध्यक्ष यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने भन्दैे राजिनामा दिएको बताएको छ ।
जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाटै अहिले नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन् । अब जसपाबाट मन्त्रिपरिषद्मा दुईमन्त्री र एक राज्यमन्त्री भएका छन् ।
केही दिनअघि यादव विदेश भ्रमणमै रहेका बेला जसपा, नेपाल विभाजित भएको थियो । विभाजनपछि बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसमेत सरकारमा रहेको छ ।
१२ सांसद भएको जसपा नेपाललाई विभाजन गर्दै सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले दलको मान्यता दिएपछि जसपा नेपालका अध्यक्ष यादव पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन्। । उनले पार्टी विभाजनविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका छन् ।
जसपा नेपालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । आज सभामुखलाई पठाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ ।