

विराटनगर, ३१ बैशाख । नेपाली कांग्रेसका कोशी प्रदेश सभा संसदीय दलले प्रदेश सरकारबारेको मुद्धाको फैसला नआउन्जेलसम्म प्रदेशसभा बैठकमा उपस्थिति नहुने निर्णय गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेशसभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताएका छन् ।
सोमबार सञ्चारकर्मी सँग उनले कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसदमा उपस्थित नहुने बताएका हुन् । उनले कांग्रेसले सोमबारको बैठक सारेर ९ गते सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै बैठक राख्न सभामुखसँग आग्रह गरेको भएपनि त्यसो हुन नसकेको बताए । उनले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको कारणले कांग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताए । उनले अदालतको निर्णयलाई स्वीकार गरेर जाने पनि बताए ।
प्रदेश सरकारबारे अदालतमा मुद्दा चलिरहेको र अन्तिम सुनुवाइको मिति तोकिसकिएको समयमा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको कांग्रेसको आरोप छ ।