बिराटनागर महानगरद्धारा ५९ किलो सुर्तीजन्य पदार्थ नष्ट

Logo
Popular News बुधबार, पुष ११, २०८०

विराटनगर, ११ पुष । विराटनगर महानगरपालिकाले बरामद गरेको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ ।
विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो ।

पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै महानगरको सरसफाईमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनु परेको मेयर नागेश कोइरालाकोे भनाई छ ।

मेयर कोइरालाको उपस्थितिमा महानगरले बुधबार करिब ५९ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको हो । गुट्खा, तुल्सी, खैनीलगायतका सुर्तीजन्य पदार्थ नष्ट गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । यसअघि पनि ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरिएको थियो ।

महानगरले पौडेललाई नै सुर्तीजन्य पदार्थको अनुगमनको जिम्मेवारी तोकेको छ । केही दिनअघि एकजना व्यापारीलाई महानगरले १० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो । पटक–पटकको चेतावनीलाई बेवास्ता गर्दै केही बिक्री गरेको फेला पारेपछि महानगरले ती व्यापारीलाई जरिवाना गरेको जनाएको छ ।

महानगरले गत वैशाख १ गतेदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएको हो । त्यस्तै साउन १ गतेदेखि भने सुर्तीजन्य पदार्थ बिक्रीको अनुमति खारेज र नयाँ दर्तासमेत बन्द गरेको छ ।

महानगरले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई नियन्त्रण गर्न ऐनसमेत जारी गरेको छ । १ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने ऐनमा उल्लेख छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800