इनरुवा, ७ जेठ । इनरुवा ४ स्थित निर्माणधीन हनुमान मन्दिरबाट चोरी भएको मुर्ति फेला परेको छ ।
मन्दिर देखि उत्तरपट्टि सुनसरी खोलामा फालिएको अवस्थामा मूर्ति फेला परेको हो ।
इनरुवा ४ का वडा अध्यक्ष बौवालाल मेहताले चोरी भएको हनुमानको मूर्ति सुनसरी खोलामा फालिएको अवस्थामा भेटिएको जानकारी दिए । उनले चोरी भएको राति दुई जना यूवाले सुनसरी खोलामा मूर्ति फालेको भोक्राहानरसिंह ४ का कृषक शिवकुमार उराँवले देखेको समेत बताए । प्रत्यक्षदर्शि उराँवले मूर्ति खोलामा फालेको आफुले देखेको प्रहरीको मुचुल्कामा समेत उल्लेख गरेको वडाअध्यक्ष मेहताले बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले मुर्ति फेला परेपनि अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।