कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ

सिरोहियालाई धनुषा लगियो
Logo
Popular News मंगलबार, जेठ ०८, २०८१

काठमाडौँ, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न कान्तिपुर कार्यालयबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको जानकारी दिएको छ।

सिरोहियाविरुद्ध दोहोरो नागरिकता रहेको भन्दै प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी परेको थियो । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।जाहेरी परेको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो।

पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए। यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गरेका थिए। उनले राज्यले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए। त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।

सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए। त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ।

प्रकाउपछि सिरोहियाले सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।

सिरोहियाले गृहमन्त्री लामिछानेविरुद्ध दुईवटा राहदानीको मुद्दा रहेको भन्दै उनीविरुद्ध पनि भोलि पक्राउ पुर्जी जारी हुने आशा रहेको बताएका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800