काठमाण्डौ, १३ पुष । कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामा नै संचालन गर्नुपर्ने माग राख्दै सुनसरीका क्रियाशिल राजनीतिक दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–२ स्थित जिल्ला समन्वय समिति सुनसरी इनरुवाको परिसरमा निर्माण गरिएको कोशी प्रदेश प्रहरी अस्पताललाई उद्घाटन र संचालन गर्न ढिलासुस्ती भइरहेकोले इनरुवामै संचालन गर्नका लागि सुनसरीका राजनीतिक दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
इनरुवा स्थित जिल्ला समन्वय समिति सुनसरीको परिसरमा प्रहरी अस्पतालको सम्पूर्ण पूर्वाधारहरु अस्पताललार्ई दिएको हुदाँ त्यसको सम्पूर्ण तयारी पूरा भई उद्घाटन गर्न मात्र बाँकी रहेकाले संचालन र उद्घाटनका लागि ज्ञापनपत्र मार्फत जानकारी गराएको हो ।
कोशी प्रादेशिक प्रहरी अस्पताल इनरुवाबाट अन्यत्र नसार्न आग्रह गरिएको छ । अस्पताल अन्यत्र सरेमा सुनसरीबासी आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सुनसरीका टोलिले प्रधानमन्त्री, गुहमन्त्री सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामा राख्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छ।