काठमाडौँ, १६ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा दायर गरेको रिट सुनुवाइ स्थगित भएको छ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा हेर्न नभ्याइने भएपछि स्थगित हुँदै अर्को दिनका लागि सारिएको हो ।
तत्कालीन मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा बहस गर्ने कानुन व्यवसायी धेरै भएको भन्दै इजलासले अर्कै दिनका लागि पेशी तोक्ने सल्लाह मागेपछि कानुन व्यवसायीले सहमति दिएका थिए ।
कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए । संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने कदम असंवैधानिक भएको जिकिर गरेका थिए । अर्को पेशी एक सातापछि राख्ने सर्वोच्चको तयारी छ।