सरकारले ल्याएको आगामी बजेटप्रति एमाले अध्यक्ष ओली असन्तुष्ट

Logo
Popular News शनिबार, जेठ १९, २०८१

काठमाडौँ , १९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिवार संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन ।

अध्यक्ष ओलीले सरकारले नेकपा माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको भन्दै अर्थमन्त्री पुनको आलोचना गरे । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माणको प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको आरोप लगाए ।

ओलीले भने, ‘हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ ? यी विषयहरुमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरु छलफल बाँकी रहन्छ । अघि नै मैले भने, विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन–कुन मन्त्रालय कस्तो विनियोजन भयो ? र त्यसमा कुन–कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ ? कुन कटौती गरिएको छ ? कुन पूरा भयो, कुन अपुरैमा कटौती भयो ? नाम मात्रैको आयोजना राखियो तर बजेट छुट्याइएन कि ? कहाँ कस्ता कमी रहे, त्यसलाई पनि हेरिनेछ ।’

उनले बजेट अर्थमन्त्रीको हो कि अर्थमन्त्रीको पार्टीको हो भन्दै प्रश्न गरे । ’यो बजेट एकदमै सामान्य हिसावले भन्ने हो भने दफावार हिसावले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि ? जस्तो अलि बढ्ता देखिन गएको छ,’ उनले भने, ’हामीले समाजवाद निर्माणको बाटो लिएका छौं । त्यसका लागि समाजवाद निर्माणका आधारहरु तयार गर्ने, समाजवादउन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरु, ती कुराहरु बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्ष ओलीको बजेट प्रतिको असन्तुष्टिले सरकार र सत्ता गठवन्धन विच राम्रो समन्वय नभएको प्रष्ट देखिएको छ । यसले सत्तागठवन्धमा रहेका दलहरु विच खटपट शुरु भईसकेको संकेत पनि हुन सक्ने रुपमा पनि केहिले अर्थाएको छ । यसअघि सत्तागठवन्धन भित्रका एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी गठवन्धन बैठकमा सहभागी भएका थिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800