इनरुवा, ६ असार । सुनसरीको कोशी गाउँपालिकाको बेरुजु करिब २० करोड पुगेको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०७९।८० सम्ममा विभिन्न शिर्षकमा गरि १९ करोड ४९ लाख ९० हजार बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदन २०८० मा उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार लेखापरीक्षणबाट रु. ८ करोड २४ लाख ६५ हजार बेरुजु देखिएकोमा सो सम्वन्धमा रु. २ करोड ८६ लाख ३ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारवाही र प्रतिक्रियाबाट थप बेरुजु रु. २१ लाख ८५ हजार कायम भएको छ ।
गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रम संचालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिहरुबाट रु. १ करोड ५३ लाख ७९ हजार बेरुजु असुल गर्नुपर्ने देखिएको छ ।
गाउँपालिकाले विभिन्न संघ संस्था र कार्यक्रम संचालन गर्दा प्रमाण पेश नगरेको भन्दै प्रमाण पेश गर्नुपर्ने बेरुजू रु. २ करोड४१ लाख ६४ हजार रहेको छ । त्यस्तै विभिन्न कार्यहरु अनियमित भएको र नियमित गर्नुपर्ने बेरुजु रु. १ करोड ४२ लाख ४ हजार रहेको छ ।
विभिन्न कर्मचारी, संस्था र फर्मलाई दिएको पेश्की समयमा फ्छयौट नगरेको पेश्की बेरुजु रु. ५ करोड ६० लाख ४७ हजार रहेको छ ।
गाउँपालिकाको आर्थिक बर्ष ०७८।०७९ सम्म रु. १४ करोड ५९ लाख ३८ हजार बेरुजु बांकी रहेकोमा आर्थिक बर्ष ०७९।८० मा १९ करोड ४९ लाख ९० हजार बेरुजु रकम पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गाउँपालिकामा आर्थिक अनुशासनको अभाव तथा जथाभावी र अनियमित ढंगबाट काम गर्दा बेरुजु रकम बढदै गएको स्रोतले दाबी छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछ्र्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) ( घ)बमोजिम बेरुजु फछ्र्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भएपनि कुनैपनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्ने तर्फ तदारुकता नदेखाएको महालेखाको प्रतिबेदनले पुष्टि गरेको छ ।