विराटनगर, ८ असार । सत्तापक्षकै असन्तृष्टिका बीच कोशी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ ।
शुक्रबार राति नौं बजेसम्म बजेटमाथिको छलफलपछि आज बसेको प्रदेश सभाको १३ औं बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो ।
१ असारमा अर्थमन्त्री रामबहादुर मगरले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । जसमा मन्त्री मगरले चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापन तर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाखको बजेट पेश गरेका थिए । ४ असारबाट प्रदेशसभा बैठकमा बजेटमाथि छलफल सुरु भयो । चार दिन लगातार छलफलपछि बजेट पारित भएको हो ।
बजेट पारित भए तर बजेटप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आफ्ना योजना छुटेको भन्दै असन्तुष्ट जनाएका थिए भने बजेटमाथिको छलफलका क्रममा सत्तापक्षकै सांसदहरुले पनि असन्तुष्टि जनाए ।
कोशी प्रदेशको बजेट आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी केन्द्रका सांसद जीवन आचार्यको क्षेत्रमा बढी केन्द्रित भएको सांसदहरुको गुनासो छ ।
कोशी सरकार गठनविरुद्धको मुद्दा सर्वाेच्च अदालतमा परेको रिटमा आइतबारबाट निरन्तर सुनुवाइ हुँदैछ । त्यसैले शनिबार नै हतारमा बजेट पारित गरिएको बुझिएको छ ।