सुनसरी, ११ असार । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्न सकेन ।
आर्थिक वर्ष २०८१।०८२ का लागि सोमबार बजेट प्रस्तुत गर्नुपर्ने भएपनि धरानमा जनप्रतिनिधिहरूबीचको विवादले बजेट सार्वजनिक हुन नसकेको हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षबीचको विवादका कारण सोमबार नगरसभा हुन नसकी समयमा नीति कार्यक्रम र बजेट सार्वजनिक हुन नसकेको हो ।
धरान १० स्थित सैनिक भवनमा सोमबार दिउँसो ३ बजे हुने भनिएको बैठकमा मेयर, उपमेयर, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरू पुगेपनि नगरसभा सुरु नै हुन सकेन ।
उपमेयर बेघाका अनुसार बजेटको सबै प्रक्रिया पूरा नगरी नगरसभाको समय तय भएका कारण बजेट आउन नसकेको हो । धरानको बजेट आउन नसक्नुमा यसको जिम्मेवारी मेयर साम्पाङले नै लिनुपर्ने उनको जिकिर छ ।
मेयर साम्पाङले सोमबारको नगरसभा उद्घाटन र नीति कार्यक्रम गर्ने र असार २५ गते बजेटसहित आउने प्रस्ताव गरेका थिए । तर, अरु नगरसभा सदस्यहरूले भने उनको प्रस्ताव अस्वीकार गरेका थिए ।