देशभर बर्षा र बर्षाले राजमार्गहरु अवरुद्ध

Logo
Popular News शनिबार, आषाढ २३, २०८१

सुनसरी, २२ असार । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ ।

आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका केही स्थानमा समेत वर्षा भइरहेको छ ।
आज राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राजमार्ग अवरुद्ध :
अविरलको बर्षाले देशभरका विभिन्न राजगमार्ग तथा सडकहरू अवरुद्ध भएका छन् ।

लगातारको वर्षापछि खसेको पहिरोले बीपी राजमार्ग र मध्येपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–२ को कमेरेफाँटमा लेदोसहितको पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका–६ अक्करे भीर र फिक्कल गाउँपालिका–२ सुम्नामबेंसीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डको सडकमा लेदो खसेर सवारीसाधन फसेपछि सडक अवरुद्व भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–४ को मनहरी, छबिसे, म्याग्दे–६ को मौरी ओढार र व्यास नगरपालिका–१२ मा सडक अवरोध भएको हो । सडकमा खसेको माटोको लेदो हटाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण सल्यानको कपुरकोट बजार नजिकै चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दर्जनौं गाडीसहित यात्रुहरू अलपत्र परेका छन् । कतिपय त हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।अहिले डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको र सुक्षाकर्मीको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीका तीनैवटा सडकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ । यस्तै हेटौंडाबाट मातातीर्थ हुँदै काठमाडौं प्रवेश गर्ने सडक पनि अवरुद्ध बनेको छ । महालक्ष्मी पुल भन्दा अलि पर पहिरो गएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौंको वैकल्पिक मार्ग सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो।
मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठूलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीको भनाइ छ।

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ ।पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पृथ्वीराज मार्गको तनहुँ स्थित म्याग्दे ४ मनोहरीमा बाटो हिलो भएर ट्रक र बस फसेका छन् । जसका कारण सडक पूर्ण ठप्प भएको गण्डकी प्रहरीले जनाएको छ । यस्तै, सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका ८ स्थित शान्ति, वडा नम्बर १० को मोदीखोला, गल्याङ ८ को चिउरी र गल्याङ ११ को मुडकिल्लामा पहिरो झरेको छ ।

बेसीशहर मनाङ सडक, मालढुंगा बेनी, बेनी दरबाङ र बेनी जोमसोम सडक पनि पूर्ण रुपमा ठप्प छ । बेंसीशहर चामे सडकको मर्स्याङ्दी ४ हावाडाँडामा पहिरोले बाटो रोकिएको छ ।

मालढुंगा वेनी सडकको कुश्मा नगरपालिका १ मालढुंगामा पहिरो झरेको प्रहरीले जनाएको छ । यस्तै, बेनी जोमसोम सडकको रघुगंगा ३ बैसरीमा लेदो सहित पहिरो आएको छ ।

बेनी दरबाङ सडक खण्डको बेनी ४ घुमाउने भीरमा पहिरो आएको छ । सबै सडकमा प्रहरी खटाएर पहिरो पन्छाउने काम भइरहेको गण्डकी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800