विराटनगर, २२ असार । चाहिएको बेलामा सुनसरी मोरङ सिँचाइ आयोजनाले नहरमा पानी नछोड्दा उत्पादनमा असर गरेको भन्दै किसानहरूले आवश्यकताका आधारमा नहरमा पानी छोडन माग गरेका छन । बनाइदिन मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।
शुक्रबार मोरङको कटहरी गाउँपालिकामा आयोजना गरिएको किसानसँग कृषिमन्त्री विषयक अन्तरक्रियामा किसानहरुले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की संग माग गरेका हुन ।
जवाफमा मुख्यमन्त्री कार्कीले किसानलाई चाहिएको बेलामा नहरमा पानी छोड्ने व्यवस्थाका लागि सरकारले पहल गर्ने बताए ।
साथै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सरकारले कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाई त्यस अनुसारका कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको जानकारी दिए । उनले जीवनको आधार नै कृषि भएकोले कृषिलाई आधुनिक र उन्नत प्रविधिमा रूपान्तरण गर्न सरकारले ध्यान दिने बताए । यस क्षेत्रमा सञ्चालित अधिकांश उद्योगहरू कृषिमा आधारित रहेकोले पनि सरकारले कृषि उत्पादन र त्यसको बजारीकरणमा विशेष ध्यान दिने मुख्यमन्त्री कार्कीको भनाइ थियो ।
मुख्यमन्त्री कार्कीले पछिल्लो समय प्रदेशमा मासुजन्य वस्तुको उत्पादन बढेको भएपनि दाना उत्पादन बढ्न नसकेकोले दाना उत्पादन बढाउन आवश्यक बाली लगाउन र उद्योग स्थापना गर्ने योजना बनाउन मन्त्रालयलाई निर्देशन दिए । उनले किसानका उत्पादनहरूको बजारीकरण गर्न आवश्यक सहजीकरण गर्ने पनि बताए ।